धरान : धरान उपमहानगरपालिका वडा नं. ४ स्थित पत्रङ्बारीका स्थानीयवासी र धरान उपमहानगरपालिकाको सहयोगमा पाँच कोठे अस्थायी प्रहरी चौकी निर्माण भएको छ ।

शनिवार आयोजित एक कार्यक्रममा मेयर तिलक राईले निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकीको भवन उद्घाटन गरेका हुन् ।

भवन निर्माण समितिका अध्यक्ष टङ्क राना मगरका अनुसार धरान उपमहानगरपालिकाको ३ लाख रुपैयाँ, स्थानीयवासीको ४ लाख ७३ हजार पाँच सय रुपैयाँ र जनसहभागिताको २ लाख ४० हजार रुपैयाँ लागतमा अस्थायी प्रहरी चौकीको भवन निर्माण कार्य सम्पन्न भएको हो । उक्त भवन निर्माणका लागि समाजसेवी सम्राट् क्षेत्रीले ३ कठा १ धुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले जनस्तरबाट प्रहरी चौकी भवन निर्माण हुनु सराहनीय कार्य भएको बताए । राम्रो कार्यको लागि उपमहानगरपालिकाको साथ सधैँ रहने प्रतिबद्धता व्यक्त गर्दै मेयर राईले जग्गा उपलब्ध गराउने व्यक्ती र स्थानीयवासीको प्रशंसा समेत गरे ।

मेयर राईले प्रहरी र नगरवासीहरूको सम्बन्ध सुमधुर बन्दै गएको बताउँदै यहाँ खटिएका प्रहरीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । पत्रङबारी अस्थायी प्रहरी चौकीमा आवश्यक पर्ने भौतिक पूर्वाधारहरूको छलफल गरेर परिपूर्ति गरिने मेयर राईको भनाई थियो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले प्रहरी र जनताको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताए । पत्रङ्गबारीका स्थानीयवासीले अस्थायी प्रहरी चौकी निर्माण गरेर आफूलाई नमुना प्रमाणित गरेको डिएसपी कुँवरको भनाई थियो ।

कार्यक्रममा निर्माण समितिका अध्यक्ष राना मगरले अस्थायी प्रहरी चौकी आएदेखि अपाराधिक घटना कम भएको जानकारी दिँदै यहाँका जनताले सुरक्षाको अनुभूति गर्न पाएको बताए । जग्गादाता समाजसेवी सम्राट् क्षेत्रीलाई मेयर तिलक राईले सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

Patrangbari-police