इटहरी : नेपाल प्रेस युनियन सुनसरीको चियापान कार्यक्रम सम्पन्न भएको छ । इटहरीको लायन्स क्लबको भवनमा शनिवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

दसैँ तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता र काँग्रेसको भूमिकाको विषयमा बिचार विमर्श भएको छ। नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा काँग्रेसका शुभेच्छुक तथा भातृ संस्थाका पदाधिकारीको उपस्थितिमा भएको हो ।

कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले पत्रकारको आलोचनालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । धेरै मिडिया हाउसले पत्रकारलाई तलब नदिएको स्मरण गराउँदै उनले त्यस्ता समस्या भएको ठाउँमा महासङ्घ साथमा रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पछिल्लो समय युवापुस्ता पत्र कारितामा लागेकोमा खुसी व्यक्त गरे । पत्रकारको आलोचनाले पाठ सिकाउने बताउँदै उनले पत्रकारको टिप्पणीलाई गुटबन्दी सँग जोड्न नहुने उनले बताए ।

काँग्रेसको शुभेच्छुक संस्था मानिएको प्रेस युनियन सुनसरीले जारी १४ औँ अधिवेशनको दौरानमा भएका गुटबन्दीलाई एकतामा परिणत गर्न कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमले लोकतन्त्र प्रेमी कार्यकर्तामा ऊर्जा थप्ने र भाइचाराको भावना बढाउने काम गरेको युनियन सभापति पवन अधिकारीले बताएका छन् ।

काँग्रेस लोकतान्त्रिक पार्टी भएको र प्रेस युनियन त्यही लोकतन्त्रलाई संस्थागत गर्ने बलियो संस्था भएको बताए । पत्रकारले नेताहरूको विषयमा आलोचना र टिप्पणी गर्ने गरेको प्रस्ट पार्दै उनले त्यसलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।