इटहरी : नेपाल सरकारका रक्षा मन्त्री मिनेन्द्र रिजालले प्रदेश १ को मुख्यमन्त्रीमा राजीव कोइराला स्वभावीक दाबेदार रहेको बताएका छन् । सुनसरीको इटहरीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलको नेता कोइरालाले मुख्यमन्त्री नपाउनु दुखद भएको प्रतिक्रिया दिए । काँग्रेसले प्रदेशका नेतृत्व पाउनुपर्ने विषयमा गम्भीर बहस भएको बताउँदै उनले अब केही गर्न नसकिने बताए ।

वर्तमान सरकारमा आबद्ध गठबन्धनका दलहरूले थेग्न सक्ने मात्र माग राख्दा सरकार प्रभावकारी हुने रिजालले बताएका छन् । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले केपी ओलीको अराजकता सिद्ध्याउन बनेको गठबन्धन सरकारलाई गल्ती गर्ने छुट नरहेको बताएका हुन् । यो सरकार सफल भए मात्र नेपाली काँग्रेस र गठबन्धनमा आबद्ध दलहरू सफल हुने उनको बुझाई छ ।

सरकार गठनको विषयमा बोल्दै मन्त्री रिजालले आफू बोल्ने मान्छेलाई नबोल्ने मन्त्रालय परेको भन्दै ठट्टा गरे । नबोल्ने मान्छेलाई बोल्ने मन्त्रालय र बोल्ने मान्छेलाई नबोल्ने मन्त्रालय परेको उनले बताए ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका रिजालले महाधिवेशनको बेला कार्यकर्ताले संयम अपनाउनुपर्ने सुझाव दिएका छन् । पराजितले खिन्न हुने र विजेताले दम्भ देखाउने बेला नभएको उनले बताए । पार्टीको आन्तरिक प्रतिस्पर्धालाई सीमाभन्दा बाहिर लान नहुने रिजालको भनाई छ ।

रिजाल मन्त्री भएकै भोलिपल्ट निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर २ पुगे । कार्यकर्ता तथा पारिवारिक भेटघाटको लागी उनी गृह जिल्ला गएका हुन् । सोही क्रममा पूर्वी पृतना इटहरीको भ्रमणमा आएका उनले कार्यकर्ता सँग भेटघाट गरेका थिए ।