धरान : आज दिउसो आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर खसेको छ ।

प्याराग्लाडीङमा सवार धरान-१ निवासी ४८ वर्षीय रोशन अधिकारी रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । घाइते अधिकारी धरान १ का वडाध्यक्ष हुन् । प्यारग्लाडीङ उडिरहेको बेलामा एक्कासि मौसममा खराबी आएको र हावा हुरी सँगै पानी परेकोले धरानमा अवतरण गर्न नसकेर उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच नजिकैको सप्तकोसी नदीको किनारामा प्याराग्लाडीङ खसेको थियो ।

प्याराग्लाडीङमा सवार अधिकारीको उद्धार गरी अहिले उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । ढाडमा समस्या बाहेक अरू बाहिरी चोट भने नदेखिएको बताइएको छ ।