धरान : बडा दशैं अन्तर्गत आज टिकाको चौथो दिन। आज पनि मान्यजनबाट टिका जमरा र आशिर्वाद ग्रहण गरिँदैछ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी नै रहने छ ।

विशेष गरी टाढा टाढा रहेका आफन्तहरू दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नवदुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा सुख शान्ति समृद्धि वृद्धि हुने जनविश्वास रहेको छ ।

असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने विजयादशमीलाई हिन्दु धर्मावलम्बीको महत्त्वपूर्ण पर्वका रूपमा मनाउँदै आएको छ । मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन रहेको छ ।