धरान : आइतबार प्याराग्लाइडिङ दुर्घटनामा परी घाइते हुन पुगेका धरान-१ का वडाध्यक्ष रोशन अधिकारीको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ।

भेडेटारबाट आइतबार दिउसो सोलो फ्लाइटमा उडेका अधिकारी मौसममा एक्कासि खराबी आएपछि धरानमा ल्यान्ड गर्न नसकेर हावा र पानीले उनलाई सप्तकोशी पारी रामपुर ठोक्सीला-८ को कोशी किनारामा पुर्‍याएको थियो ।

उनलाई घटनास्थलबाट उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याईएको थियो । ढाड बजारिदा भित्री चोट हुन सक्ने भन्दै चिकित्सकले पेटको सिटीस्क्यान गर्न भनेका थिए । तर बीपीको मेसिन बिग्रिएकोले गर्दा उनलाई थप उपचारको लागि आइतबार राति नै विराटनगर स्थित नोबेल मेडिकल कलेजमा लगिएको थियो ।

अहिले अध्यक्ष अधिकारीको स्वास्थ्य अवस्था त्यस्तो गम्भीर नभएको र अग्लो उचाइबाट जमिनमा बजारिदा पेटमा रगत जमेको बाहेक अरू बाहिरी कुनै चोट पटक नभएको चिकित्सकले बताएको अधिकारीकी श्रीमती रोजिना अधिकारीले जानकारी दिइन् ।

आइसियुमा राखेर उपचार भइरहेको भए पनि स्वास्थ्यमा त्यस्तो गम्भीर अवस्था नदेखिएको र चिकित्सकको सल्लाह अनुसार ४८ घण्टा चिकित्सकको निगरानीका लागि आइसियुमा राखिएको बताइएको छ ।