धरान : बडा दशैं अन्तर्गत आज टिकाको पाँचौँ दिन । आज तिथिले पूर्णिमा राति थोरै भेटेको छ । त्यसैले पनि दसैँ समापन हुने कोजाग्रत पूर्णिमा भोलि परेको छ ।

आज चतुर्दशी तिथि बेलुका ७ बजेर २० मिनेट सम्म छ भने पूर्णिमा त्यस उपरान्त सुरूहुनेछ । आज पूर्णिमा थोरै समयका लागि मात्र भेटेका हुनाले भोलीमात्र कोजाग्रत पूर्णिमा रहेको र भोलि नै दसैँको आधिकारिक समापन हुँदै छ ।

त्यसैले भोलि सम्म आफ्ना मान्यजनबाट टिका जमरा र आर्सीवाद ग्रहण गरिने छ । यस पालि पूर्णिमा दुई दिन परेकाले टिका लगाउने समय लम्बिएको हो । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी नै रहने छ भने भोलि कोजाग्रत पूर्णिमा बाट दसैँको औपचारिक समापन हुनेछ ।

विशेष गरी टाढा टाढा रहेका आफन्तहरू दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमा सम्म टिका लगाउने गरिएको हो । नवदुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा सुख शान्ति समृद्धि वृद्धि हुने जनविश्वास रहेको छ ।

असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने विजयादशमीलाई हिन्दु धर्मावलम्बीको महत्त्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ । मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन रहेको छ ।