इटहरी : इटहरीको पश्चिम लाइन जालपा पेट्रोल पम्प नजिक पूर्व-पश्चिम राजमार्गमा तिन जना युवा चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का २२ वर्षीय मुकेश सरदार रहेका छन् । हिजो सोमबार राती पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं १-०२-००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुकेशको धरानको बिपी प्रतिष्ठानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा पछाडि सवार रहेका रामधुनीकै २२ वर्षीय नवीन सरदार र १८ वर्षीय अबिसेक सरदार समेत घाइते भएको र उनीहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकली जानकारी दिएको छ।