झापा : बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको १० देखि १५ प्रतिशत धान बालीमा क्षति पुगेको हो।

यस वर्ष करिब ९० हजार हेक्टरमा धान बाली लगाइएको थियो । खास गरी पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा राखिएको धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए ।

‘जिल्लाका सबै पालिकाहरूमा क्षति पुगेको छ-उनले भने हावापानी नरोकिएकाले क्षति अझ बढ्न सक्छ।’ मन्सुली , रञ्जित, आरपिजस्ता धानमा बढी क्षति पुगेको कृषि अर्थ विज्ञ भट्टराईले जानकारी दिए।

झापामा कम्तीमा ६० हजार मेट्रिक टन धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।