धनकुटा : निरन्तरको वर्षाले धनकुटाको लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तरगत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध वनेको छ ।

लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिब ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयकी सुपरभाइजर अमृता राईले बताइन । मङ्गलवार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोशी राजमार्ग खोलाले कटान गरेको हो । उनका अनुसार क्षति भएको सडक सम्म जाने स्थिति नै छैन । खोला उर्लिएको छ । बालुवा तथा माटो सहितको बाढी आइरहेको छ ।

बाटो बगाएपछि अहिले सडक पुरै अवरुद्ध छ। धरान देखि आएका र धनकुटाबाट गएका सयौँ गाडीहरू बाटोमा नै रोकिएका छन् । सडक बगाएपछि धनकुटा सहित तेह्रथुम, भोजपुर तथा सङ्खुवासभाबाट तराइ जाने तथा तराइ वाट धनकुटा सहित तेह्रथुम भोजपुर तथा सङ्खुवासभा जाने यातायातका साधन बाटैमा रोकिदा सयौँ यात्रु बिचवाटोमै अलपत्र परेका छन् ।

पानीको बहाव बढेको कारण सडक अझैँ क्षति हुने सम्भावना रहेको उनले बताइन । तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन । जसको कारण चाडै सडक खुल्ने सम्भावना पनि छैन । अविरल रूपमा पानी परिरहेको कारण राजमार्गका वरिपरि पहिरोको सम्भावना बढेको छ ।

बाढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन । बाटो बगाएदेखि तीन किलो मिटर वर फेदी खोलामा पुल रहेको छ । त्यहाँ केही होटल र स्थानीयको घर रहेको छ । जिल्ला सदरमुकाम देखि सुरक्षाकर्मीको टोली बाटो बगाएको स्थानमा पुगेका छन् । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोशी राजमार्गको विभिन्न ठाउँमा पहिरो गइरहेको बताए ।

सदरमुकाम मास्तिरको सल्लेरीमा रुख ढल्दा बाटो अवरुद्ध वनेको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रुख पन्छाएका छन् । उनले भने, ठाउँ ठाउँमा रुख ढलेका छन् । ढलेका रुख पन्छाउने काम भइरहेको छ । लगातार पानी परिरहेकोले थप क्षति हुने सम्भावना छ ।

हिले भोजपुर सडक पनि अवरुद्ध

यस्तै हिले भोजपुर सडक पनि अवरुद्ध भएको छ । हिले भोजपुर सडक खण्ड अन्तरगत पाख्रिवास नगरपालिका वडा नम्बर ६ डिकुरेमा सडक अवरुद्ध भएको छ । सडक माथिबाट लेदो माटो सहित ढुङ्गा निरन्तर बगिरहेको छ ।

बाटो खुलाउन प्रहरी डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षको कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए ।