धरान : केही दिन देखि प्रदेश १ मा निरन्तरको वर्षा सँगै चलेको हावाहुरी र अविरल वर्षाले पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ ।

प्रदेश कृषि मन्त्रालयका अनुसार हावाहुरीले पाक्न लागको धान ढालेको र त्यसमाथि अविरल पानी परेर डुबानमा परेकाले धान बालीमा धेरै नै क्षतिको अनुमान गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । उनका अनुसार फूल खेल्दै गरेको धान हावाले लडाउँदा सबैभन्दा बढी क्षति पुगेको छ । त्यस्तो धानको नलमा फल लाग्ने सम्भावना न्यून हुन्छ ।

उप्रेतीका अनुसार क्षतिको वास्तविक विवरण आइसकेको छैन । प्रदेश १ को अन्नको भण्डारले चिनिएका मोरङ, सुनसरी र झापाको अधिकांश धान हावाहुरीले ढलाउँदा पानीमा डुबेको छ । फूल खेल्दै गरेको धान लडेर पानीमा डुब्दा दाना लाग्ने सम्भावना हुँदैन ।

उनका अनुसार प्रदेश १ मा धान कटानी सुरु भएको छैन । नकाटिएको धान हावाहुरीले लडाएर एक फिटसम्म पानीले डुबाएको छ ।

मोरङमा यसपालि ८३ हजार ३ सय हेक्टर, सुनसरीमा ५५ हजार र झापामा ८७ हजार ५ सय हेक्टरमा धान रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय प्रमुख प्रकाश डाँगीले बताए । प्रदेश १ मा यसपालि ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

त्यसबाट करिब १४ लाख टन धान उत्पादन हुने निर्देशनालयको आकलन थियो । डाँगीले भने, ’यो हावाहुरी र अविरल वर्षाले उत्पादन ह्वात्तै घट्ने स्थिति छ ।’ गत वर्ष १३ लाख टन धान उत्पादन भएको थियो ।

यो प्रदेशको ताप्लेजुङमा ८ हजार ७ सय ३७, सङ्खुवासभामा १३ हजार ८ सय ५१, सोलुखुम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुङ्गामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको निर्देशनालयको तथ्याङ्क छ ।

jhapa-dhan