धरान : मंगलबार विद्युत प्राधिकरणको दुहबी ग्रिडमा टेङ्ग्रा खोलाको बाढी पसे पछि अवरुद्ध भएको बिजुली अझै कहिले आउने टुङ्गो छैन । 

दुहबी ग्रिडका प्रमुख राजेश रेग्मीका अनुसार ग्रिडमा बाढी पसेर डुबान भएपछि मंगलबार राति साढे ८ बजे देखि बिजुली अवरुद्ध भएको थियो । बुधवार दिनभरि पानी तर्काएर १३२ केभी प्रसारण लाइन अन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत सुचारु भएको छ ।

सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा भने मौसममा बदली आएन भने बिहीबार साँझ सम्ममा विद्युत सुचारु हुन सक्ने प्रमुख रेग्मीले बताए । यदि फेरि पानी पर्‍यो भने बिहीबार साँझ पनि विद्युत सुचारु गर्न नसकिने उनले बताए । 

मंगलबार राति देखि विद्युत अवरुद्ध भएपछि अहिले सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा मोबाइल सेवा समेत प्रभावित हुन थालेको छ भने यो क्षेत्रका एफएम रेडियोहरूको प्रसारण समेत रोकिएको छ । 

टेङ्ग्रा खोलाको बाढी पस्दा दुहबी ग्रिड पुरै जलमग्न भएको र ग्रिडका कर्मचारीहरूको बस्ने क्वाटर समेत डुबानमा परेपछि ग्रिडका कर्मचारीहरू समेत प्रभावित भएको प्रमुख रेग्मीले बताए ।