धरान : धरान धनकुटा सडक खण्ड अन्तर्गत लेउती खोलाले बगाएर अवरुद्ध भएको सडक बुधवार साँझ देखि खुलेको छ ।

सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक र नेपाली सेनाको पहलमा खोलामा पानीको बहाव कम भएपछि खोलामा बाटो बनाएर एकतर्फी यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सई सुरेन्द्र खड्काले जानकारी दिए ।

Leuli-sadak-4

स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाइएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो ।

सडक पुर्णरुपमा सुचारु गर्नका लागि पहल भइरहेको र पानी परेन र खोलाको बहाव घट्यो भने दुई वटा स्काभेटर प्रयोग गरेर बाटो पुर्णरुपमा खुलाउने पहल भइरहेको बताइएको छ ।

मंगलबार अपराह्न खोलाले करिब ५० मिटर बाटो कटान गरी बगाएपछि सयौँ सवारी साधन र यात्रु अलपत्र परेका थिए ।

Leuli-sadak-1

बुधवार धरानबाट पहाड हिँडेका यात्रुवाहक सवारी साधनलाई ट्राफिक प्रहरीले धरानको अमरहाटमै रोकेको थियो । बाटोमा बढी सवारीको जाम हुने र यात्रु अलपत्र पर्न सक्ने भन्दै ट्राफिक प्रहरीले यात्रुवाहक सवारी साधनलाई रोकेको हो ।

तस्बिरहरु : हरी लम्जेलको फेसबुकबाट

Leuli-sadak-4