इटहरी : इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बाढी पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।

बैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगर स्तरीय विपद् व्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिएका छन् ।

नगरप्रमुख द्वारिकलाल चौधरीले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । कार्यपालिकाको बैठकले बाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च बापत २५ हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यसै गरी वडाहरूमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सबै वडालाई एक लाखका दरले पेस्की उपलब्ध गराइने भएको छ । बाढीले भत्काएका बाटो,कल्भर्ट तत्काल मर्मत गरिने भएको छ । बैठकद्वारा उद्धार तथा राहत कार्यमा जुट्न सम्पूर्णमा आग्रह गरिएको छ ।

यसअघि बुधवार दिउसो बैंक तथा वित्तीय संस्थाहरुसँगको बैठकमा बैंक तथा वित्तीय संस्थाहरुले राहत कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा नगरप्रमुख द्धारिकलाल चौधरीले बाढीपीडितहरूका लागि सहयोगका लागि बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।