इटहरी : इटहरीमा बाढीले बेपत्ता बनाएको अर्को शव फेला परेको छ। मंगलबार दिउँसोदेखि बेपत्ता भएका इटहरी-२ शान्तिनगरका ३१ वर्षीय सन्तोष तिवारी (योगेन्द्र) मृत फेला परेको इटहरी प्रहरीले जनाएको छ ।

इटहरी-१ आँपगाछी नजिकै नालामा उनी मृत फेला परेका हुन् । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ। यसअघि बुधवार इटहरी-७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको शव भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार मङ्गलवारको बाढीको कारण बेपत्ता भएका २ जनाको मात्र शव भेटिएको हो । प्रहरीमा निवेदन परेका मध्ये बाँकी २ जना अझै बेपत्ता भएको उनले बताए।

५ जनाको बारेमा निवेदन परे पनि एक जना सुन्दरहरैचाका भएकाले इटहरीका ४ जनामध्ये २ जनाको खोजी कार्य तीव्र बनाइएको उनको भनाई छ।