इटहरी : इटहरी उपमहानगरपालिका र सुन्दरहरैँचा नगरपालिकाले बाढी पीडितको लागी राहतको प्याकेज ल्याउने भएका छन् । इटहरीले मृतकका परिवारको लागी र सुन्दरहरैँचा नगरपालिकाले कृषकको लागी राहतको प्याकेज ल्याएका हुन् ।

बेमौसमी बाढीबाट मृतकका परिवारलाई इटहरी उपमहानगरपालिकाले तत्काल २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । बुधवार बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक र कर्मचारीको ७ दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बाढी प्रभावितको लागी लत्ताकपडा र खानाको व्यवस्था मिलाउने तयारी थालिएको छ ।

बाढीले भत्काएका सडक र पुल मर्मतको लागी तत्काल प्रक्रिया अगाडी बढाइने वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्टले बताए । बाढीका कारण मृत्यु हुने र बेपत्ता हुनेको यकिन तथ्याङ्क आइ नसकेको उनको भनाई छ । सेरा र टेङ्ग्रा खोलामा पसेको बाढीले बढी क्षति भएको उनले बताए।

सुन्दरहरैँचा नगरपालिको किसानको क्षतिको लागी विवरण सङ्कलन गर्न फारम सार्वजनिक गरेको छ । फारममा क्षतिको विवरण बुझाए अनुसार राहत उपलब्ध गराइने मेयर शिवप्रसाद ढकालले बताए । उनका अनुसार केही दिनमै सम्पूर्ण विवरण सङ्कलन गरिसक्ने र यही महिना भित्रमा राहत उपलब्ध गराउने गरी तयारी थालिएको छ।