झापा : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बाढी, पहिरो र डुबानमा परेकाहरूलाई सहयोगमा जुट्न सबैसँग आग्रह गरेका छन् । पछिल्लो समय प्रकृतिले गरेको प्रहारले निम्त्याएको विनाशलाई सबैले एकताबद्ध भएर सामना गर्नुपर्ने उनको भनाइ छ ।

देशमा रहेका तिन तहका सरकारसँग अन्य सङ्घ संस्थाले पनि एकजुट भएर प्राकृतिक विपद्का समयमा सहयोगमा जुट्न उनले आग्रह गरे।

नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति झापाद्वारा दमकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस प्रवक्ता शर्माले प्रकृतिले निम्त्याएको यो विनाशबाट सिर्जित समस्या समाधान गर्न सबैले हातेमालो गर्नुपर्ने धारणा राखे । कृषकका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्नेमा उनको जोड थियो ।

विषम परिस्थितिका समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनीकन सबैले आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने गरेको विगतको दृष्टान्त रहेको स्मरण गराउँदै उनले यस पटकको यो विपद्का समयमा पनि सबैले एकजुट भएर सहयोगमा जुट्ने विश्वास व्यक्त गरे।

काँग्रेस भित्रैबाट अर्ली ईलेक्सनको कुरा उठेको छ नि भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता शर्माले भने, “आधिकारिक रूपमा कुरा उठेको छैन, कसैलाई उठे देखी सुतुन्जेलसम्म भोट भोट भोट मात्रै दिमागमा आइरहेकाले कसैले यस्तो बतायो होला, तर यो सरकारको नेतृत्वकर्ताले नेतृत्व सम्हाल्दै देखी 'खोप खोप खोप' भनेकाले पहिला खोप अनि भोट तिर सरकारको ध्यान रहेको छ।”

नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुनेमा अझै पनि शङ्का उत्पन्न भइरहेको छ नि भन्ने पत्रकारका जिज्ञासामा प्रवक्ता शर्माले भने, “केही दिनमै बैठक बस्दै छ । त्यसपछि के कसो हुन्छ भनेर त्यसै बेला जानकारी गराउँला । घुमाउरो भाषा प्रयोग गर्दै उनले महाधिवेशन डेटलाईनभन्दा केही दिन पर धकेलिने सङ्केत समेत गरे ।”

प्रवक्ता शर्माले काँग्रेस नेतृत्वको सरकारका सय दिनको प्रशंसा गर्दै सरकारले अहिलेसम्म धेरै काम गरेको दाबी समेत गरे ।