धरान : कार्तिक २ गते आएको अविरल वर्षाका कारण धरानमा मानवीय क्षति हुनुका साथै खोलामा आएको बाढीले भौतिक संरचनाहरूमा क्षति पुगेको छ ।

बुधवार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका डिएसपी कृष्ण कुमार श्रेष्ठ, नगर प्रहरी र ईञ्जिनियरहरु सहितको टोली वर्षा र बाढीले पुर्‍याएको क्षतिबारे स्थलगत अनुगमन गरेको छ ।

उपमहानगरपालिकाका इन्जिनियर रोशन रेग्मीले वडा नं. ११ स्थित वन डाँडामा कटान, धरान १६ स्थित स्व. तारा सुब्बा मेयर पार्कको पश्चिमपट्टिको घेराबार कटान गर्नुका साथै नौलो बस्ती नजिकै एउटा रिटेनिङ वाल भत्काएको, चिण्डे डाँडा जानका लागि बन्दै गरेको निर्माणाधीन पुल, वडा नं. ८ स्थित खहरे कोरिडोर, वडा नं. ५ मसाने खोलामा क्षति पुर्‍याएको जानकारी दिए ।

धरान ५ स्थित मसाने खोलाले धेरै क्षति पुर्‍याएको स्थानमा जम्मा भएको माटो, ढुङ्गा, गिट्टी निकालेर तारजाली लगाउने काम बिहीबार वाट सुरु गरिएको छ । यस्तै, वडा नं. १ स्थित विधुत प्राधिकरण मार्गमा खहरेले कटान गर्नुका साथै विधुतको पोल समेत लडाएको थियो । उक्त लडेको विधुतको पोल आज स्थानान्तरण गरिएको छ । वडा नं. १५ को विभिन्न स्थान समेत सेउति खोलाले कटान गरेको पाईएको छ ।

उक्त टोलीले बुधवार बिहान वडा नं. १३ नागेश्वरी मार्गमा पहिरोले घर पुरिँदा २ जना बच्चा मृत्यु भएको स्थानको पनि स्थलगत अनुगमन गरेको थियो ।

_-anugaman-dharan-04