धरान : धरान-२ रत्न रोडबाट स्रोत नखुलेको २२ तोलाभन्दा बढी सुन (२५८ ग्राम)  र नगद १८ लाख सहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान-१५ का ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

दिउँसो विशेष सूचनाको आधारमा उनीहरूले सुन र पैसा धेरै बोकेको भन्ने प्रहरीलाई जानकारी प्राप्त भएकोले  दुवैको साथबाट प्रहरीले ५ वटा सुनको चुरा जस्तो देखिने सुन र नगद १८ लाख बरामद भएको छ। सुनको बालाको कुल तौल २२ तोला २ आना २ लाल हुन्छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो ।  पक्राउ परेका दुई जना मामा भान्जा नाता पर्ने रहेको बताइएको छ।  

प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अवैध रुपमा केही व्यक्तिले सुन बेच्न खोजिरहेको भन्ने सूचना पाएपछि प्रहरीले निगरानी बढाइएको अवस्थामा सोही क्रममा उनीहरू रत्न रोडबाट पक्राउ परेका हुन् ।

ठुलो मात्राको सुन र नगदको स्रोत नखुलेकोले गर्दा यसबारेमा धरान प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ।