विराटनगर : बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाइते र १३ जना बेपता भएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।

प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका छन् ।पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका हुन् ।

यसै गरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते तथा १ जना बेपत्ता भएका छन् ।

यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका–१२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसाद राई गाउँपालिका–६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १-१ जनाको मृत्यु भएको छ ।

बेमौसमी झरीका कारण सयौँ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । डुबान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई विस्थापित भएका मानिसहरूलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।

हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भइरहेका छन् भने बाकी प्रहरी तयारी अवस्थामा रहेका छन् ।