धरान : सुनसरीको दुई छुट्टा छुटै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरी वराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा अन टेस्ट कार आफै अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक वराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० वर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । गए राति पौने ८ बजे कालाबञ्जर देखि चक्रघटी तर्फ जाँदै गरेको सो कार आफै अनियन्त्रित भई उक्त सडकको दाहिने तर्फ पैनीमा पल्टी दुर्घटना हुँदा गम्भीर घाइते भएका दाहालको तत्काल स्थानीय नगर अस्पताल चक्रघटीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

यसै गरी सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारी चोक स्थित पूर्व–पश्चिम राजमार्गमा अन टेस्ट स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् । गए राती साढे ११ बजे पूर्वबाट पश्चिम जाँदै गरेको उक्त स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा स्कुटर पछाडि सवार रहेकी झापा बुद्दशान्ति गाउँपालिका १ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ताप्लेजुङमा रुखबाट लडेर एक जनाको मृत्यु
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका २ ओलक गाउँ का ७५ वर्षीय भीम बहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे घर नजिकै रहेको कट्मेरोको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी थेचम्बु र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।