धरान : झापा र सुनसरीबाट ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका १९ का २६ वर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका-८ का ३५ वर्षीय विमल भुजेल र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६ वर्षीय नारायण मगर रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका-८ अटल पम्प कम्पाउन्ड भित्रबाट ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना माथि थप अनुसन्धान भइरहेको छ ।