धरान : धरानका मेयर तिलक राईको नेतृत्वमा धरान उपमहानगरपालिकाका प्राविधिकहरूसहितको टोलीले बेमौसमी वर्षा र बाढीले धरानमा पुर्‍याएको क्षतिको स्थलगत अनुगमन गरेको छ ।

आज धरान वडा नं. १५ स्थित बगरकोटका करिब एक हजार घरधुरीले उपभोग गर्ने खानेपानी र वडा नं. ५ र ६ को सिमाना भएर बग्ने सेहरा खोलाको स्थलगत अनुगमन गरेको हो । कार्तिक २ गते आएको बाढीले बगरकोटका करिब एक हजार घरधुरीले उपभोग गर्ने खानेपानीको पाइपलाइन तितरबितर बनाउँदा खानेपानी अवरुद्ध भएको छ ।

माथिल्लो बगरकोटबासीले सेउती खोलाको मुहानबाट खानेपानी उपभोग गर्दै आएका छन् । अनुगमनका क्रममा मेयर राईले खानेपानीको पाइपलाइन तत्काल विस्तार गरेर खानेपानीको समस्याको समाधान गरिदिने बताए । खानेपानीको मुहानलाई पनि घेरा बार लगाएर संरक्षण गर्नुपर्नेमा मेयर राईले जोड्दिए ।

यस्तै, कार्तिक २ गते नै वर्षासँगै आएको सेहरा खोलाको बाढीले धरान-५ स्थित खैरेनीमा एक घर बगाउनुका साथै धान लगाएको खेत समेत कटान गरेको छ । उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले उक्त स्थानमा करिब ५ सयदेखि ७ सय मिटर च्यानलिङ गरेर थप क्षति हुनबाट जोगाउने बताए ।

खोलाको बिचमा ढुङ्गा, गिट्टी थुप्रिएको छ । दुई, तिन दिन भित्रै उक्त क्षेत्रमा च्यानलिङको काम थालिने उनको भनाई छ ।

Badhi-Anugaman-1