धरान : हिजो साँझ धरान-२ स्थित रत्न रोडबाट २२ तोला भन्दा बढी सुन र नगद १८ लाख नगद सहित पक्राउ परेका दुई जनालाई आज इटहरीको आन्तरिक राजश्व कार्यालय पठाएको छ ।

हिजो स्रोत नखुलेको ठुलो मात्रामा सुन र नगद सहित प्रहरीको विशेष सूचनाको आधारमा पक्राउ परेका धरान- १५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र महालक्ष्मी नगरपालिका-२ धनकुटा बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले राम बहादुर श्रेष्ठले बोकेको प्लास्टिकको जेब्रा झोला चेकजाँच गर्दा झोला भित्र लुकाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली नगद १००० र ५०० दरका जम्मा १८ लाख) फेला पारी बरामद गरेको थियो ।

यसै गरी चन्द्र प्रसाद श्रेष्ठको पाइन्टको दाहिने गोजीमा रहेको कालो सेन्थेटिकको सानो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा पहेँलो धातु (सुन) जस्तो देखिने चुरा बनाएको थान ५ को जम्मा तौल २५८.३२० ग्राम सहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।