विराटनगर : मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

केही दिनअगाडि आएको वर्षा र बाढीले डुबानमा परेका जहदा गाउँपालिका ३ र २ नम्बर वडाका पीडितहरूलाई राहत वितरण गरिएको हो । वडा नम्बर-३ मिलन चोक आसपासको बस्ती पूर्ण रूपमा डुबान हुँदा त्यहाँका १२० घर परिवार प्रभावित भएका छन् ।

उनीहरू विस्थापित भएर स्थानीय आधारभूत विद्यालयमा बसिरहेका छन् । डुबानका कारण अधिकांश घरहरू भत्किएका माओवादी ५ नम्बर क्षेत्रका इन्चार्ज देवा यादवले बताए ।

यस्तै जहदा २ नम्बर वडाको हरिनगरा दलित बस्तीका ४० घर विस्थापित भएर नहरमा बसिरहेका छन् । उनीहरूलाई पनि मण्डलको पहलमा राहत वितरण गरिएको यादवले बताए ।

यस्तै जहदा-२ को हरिनगरा पहाडी टोल, राजघर टोलका ९८ घरपरिवार पनि विस्थापित भएका छन् । २ नम्बरकै वीरपूरमा सन्थाल टोलको अवस्था झनै नाजुक रहेको यादवले बताए ।

त्यहाँका घरहरू अझै पनि पानीले डुबाएको छ । कच्ची घर सबै भत्किएको छ । त्यही अवस्थालाई मध्यनजर गर्दै मण्डलको टोली राहत लिएर पुगेको थियो ।

आफूहरूको पहलले मात्रै स्थानीयको समस्या समाधान हुन नसक्ने भएकोले स्थानीय, प्रदेश र केन्द्र सरकारले विस्थापितलाई राहतको पर्याप्त व्यवस्थापन गर्नुपर्नेमा यादवले जोड दिएका छन् ।