धरान : बाढी पसेर अवरुद्ध भएको विराटनगर विमानस्थल आज देखि सञ्चालनमा आएको छ ।

बुधवार देखी डुबान भएको विमानस्थल हिजो सरसफाइ सकेर आज बिहान ८ बजेबाट सञ्चालनमा आएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिए । उनका अनुसार साँझको उडान भने विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र सञ्चालन हुनेछ ।

उनले भने, ‘विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले साँझको उडान छैन र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ ।’

लगातारको वर्षापछि केसेलिया खोलामा आएको बाढी मंगलबार विमानस्थलमा पसेपछि विमानस्थल अवरुद्ध भएको थियो। विमानस्थलको धावनमार्ग, पार्किङ एरिया जलमग्न भएको थियो। विराटनगरमा सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले झापाको भद्रपुरबाट र सप्तरीको राजविराजमा उडान थपेर सेवा दिइरहेका छन्।

विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक नौ र यति एयरले दैनिक पाँच वटा उडान भर्दै आएको छ। यस्तै‚ सौर्य एयर र श्री एयरलाइन्सले ४-४ र गुण एयरले एक उडान भर्दै आएका छन् ।