धरान : नेकपा एमालेको महाधिवेशन अन्तर्गत आज देशभर वडा अधिवेशन हुँदै छ ।

वडाअधिबेशनको नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मध्यान्ह १२ बजे उद्घाटन गर्दै छन् । 

धरान-१५ र ११ मा अलग अलग दुई दुई स्थानमा वडा अधिवेशन तोकिएको पत्र सामाजिक सञ्जालमा राखिएको थियो । जसले गर्दा एमालेकै कतिपय सङ्गठित सदस्य, कार्यकर्ताहरू अन्योल भएका छन् ।

धरान-१५ मा सदन हाई स्कुलको सभा हल र धरान किचनमा वडा अधिवेशन तोकिएको थियो । धरान-१५ मा सहमति पछि एकै स्थान धरान किचनमा वडाअधिबेशन हुने निश्चित भएको हर्कजंग एभेङले जानकारी दिए ।

यता धरान-११ मा ब्राइट बाल विकास केन्द्र गैरीगाउ र ज्ञानोदय माविमा वडा अधिवेशन तोकिएको छ । धरान -११ सहमतिको प्रयास भइरहेको एभेङले बताए । यसको मुख्य कारण जेठ २ अघिको कमिटी आधिकारिक कि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको कमिटी आधिकारिक भन्ने विवादका कारण यसरी अलग अलग स्थानमा वडा अधिवेशन तोकिएको हो ।

जेठ २ अघिको कमिटीले मान्यता पाउँदा नारायण सुवेदी अध्यक्ष रहेको कमिटीले आधिकारिकता पाउँछ । यो कमिटी संसद् विघटनलाई प्रतिगमन भन्दै आफ्नै पार्टी अध्यक्षकोविरुद्ध आन्दोलनमा गएको थियो । पार्टी कमिटी आन्दोलनमा गएपछि धरानमा हर्कजंग एभेङको अध्यक्षतामा धरानमा कमिटी गठन भएको थियो ।

सोही कमिटीले वडा कमिटीहरू गठन गरेर गतिविधिहरू गरिरहेको छ । यो विवाद धरान कमिटीको मात्र होइन, जिल्ला कमिटीमा पनि कुन कमिटी आधिकारिक हो भन्ने लफडा छ । जेठ २ अघिको कमिटीलाई मान्ने हो भने रमेश बस्नेत अध्यक्ष रहेको कमिटी हुन्छ ।

तर, संसद् विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा गएपछि जिल्लामा पनि रेवतीरमण भण्डारी अध्यक्ष रहेको अर्को कमिटी गठन भएको थियो ।

दुवै पक्षको जिल्ला कमिटीले अलग अलग विज्ञप्ति जारी गर्दै आफू आधिकारिक भएको दाबी गरेका छन् र, सोही कमिटी मातहतको वडा अधिवेशन मात्र आधिकारिक हुने पनि जिकिर गरेका छन् ।