धरान : परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको हरेक परिवर्तनसँगै निर्णायक भूमिकामा नेपाली काँग्रेसको अपरिहार्यता भएको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा. खडकाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि लिएर २०४६ सालको जनआन्दोलन तथा ०६२/०६३ को दोस्रो जनआन्दोलनमा नेपाली काँग्रेसको भूमिका अग्र स्थानमा रहेको दाबी गर्दै नेपाली काँग्रेसकै सरकार हुँदा प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपालको लोकतान्त्रिक गणतान्त्रिक संविधानले सार्थकता पाएको बताए ।

आफ्नो गृह जिल्ला उदयपुर हिँडेका मन्त्री डा. खड्का धरान आउने क्रममा नेपाली काँग्रेस धरान नगर समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले दुई तिहाइको कम्युनिस्ट सरकारले देश राम्ररी चलाउन नकसेको उदाहरण पेस गर्दै अब नेपाली काँग्रेसले राज्य सञ्चालनमा आफ्नो अपरिहार्यता महसुस गरी काम गर्नुपर्ने बेला आएको बताए । उनले कार्यकर्तालाई गुट उपगुटमा नलागी एक भएर आगामी निर्वाचनमा नेपाली काँग्रेस एक भएर लाग्नुपर्ने बताए ।

उनले कम्युनिस्ट बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि दुई दुई पटक संसद विघटन गरेको प्रसङ्ग कोट्याउँदै नेपाली काँग्रेस अगाडि बढे अबको नेतृत्व नेपाली काँग्रेस नै हुने दाबी गरे । उनले कम्युनिस्टकै कारण देश अराजकतातर्फ उन्मुख भएको समयमा काँग्रेसले अहिले सरकार चलाएको बताउँदै अराजकताको अन्त्य भएको दाबी समेत गरे ।

फरक प्रसंगमा मन्त्री डा. खड्काले काँग्रेसको राष्ट्रिय अधिवेशन आगामी मङ्सिर भित्र गरिसक्ने समेत बताए ।
नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलको सभापत्विमा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला स्तरीय, नगर स्तरीय, प्रदेश स्तरीय र केन्द्रीय स्तरीय कार्यकर्ताको उपस्थिति रहेको थियो ।