विराटनगर : इटहरीमा १४ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४९, कटहरीमा २, बुढीगंगा र ग्रामथानमा १-१, सुनसरीको इटहरीमा १४, धरानमा ९, झापाको बिर्तामोड र मेचीनगरमा २-२, दमकमा १, उदयपुरको बेलका र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६२ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।