धरान : सप्तकोशी नदीमा एक जना पुरुषले हाम फालेर बेपत्ता भएका छन् ।

आज बिहान साढे ११ बजे सप्तकोशी नदी कोशी ब्यारेजमा को ३६ प ९२५५ नम्बर को मोटरसाइकल पुलमा छाडेर हाम फालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हाम फाल्ने व्यक्ति ओखलढुङ्गा वर्नाले-२ घर भई हाल इटहरी उपमहानगरपालिका-१ बस्ने अन्दाजी ५०/५५ वर्षीय तिलक प्रसाद दाहाल भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । पुलमा मोटरसाइकल र एक जोडी चप्पल फेला परेको र हाम फाल्ने व्यक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

हाम फालेर बेपत्ता भएका दाहालका छोरा र आफन्तहरू समेत घटनास्थलमा पुगेर खोज तलास गरिरहेको र प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षकको कमान्डमा खोजतलास गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।