विराटनगर : नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिदैछन् ।

नियुक्ति हुँदै अल्पमतमा रहेका आचार्यले शुक्रवार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा प्रस्तावमाथि छलफल हुनेछ । छलफलपछि आजै मत विभाजन पनि हुनेछ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेका कारण मङ्गलवारसम्म प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने सम्भावना छ । विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ ।

आइतबार विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रूपमा राजेन्द्र राईलाई अघि सार्ने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । वर्तमान मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ गठनका लागि आह्वान गर्नेछन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । असोज २४ गते सभामुखले सूचना टाँस गर्दै शुक्रवारसम्मका लागि बैठक स्थगित गरेका थिए ।

शुक्रवार बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेपछि सभामुखले आजसम्मका लागि बैठक स्थगित गरेका थिए । ९३ प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । संसद्मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।