इटहरी : प्रदेश १ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठक स्थगित गर्न माग गरेको छ ।

आइतबार (आज) मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मत लिनको लागी निर्धारित बैठक रोक्न काँग्रेसले माग गरेको हो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ भ्रमणमा आएकोले प्रदेशसभा स्थगित गर्न काँग्रेसले संसद् सचिवालयमा निवेदन बुझाएको छ।

देउवालाई प्रमुख कारण देखाएर स्थगित गर्न लागिएको संसद् बैठकका पछाडि काँग्रेस भित्रको आन्तरिक समस्या कारक रहेको बुझिएको छ । काँग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएर बैठक स्थगित गर्ने निवेदन दिएको हो । आचार्यलाई काँग्रेसका ६ सांसदले साथ दिए उनको मुख्यमन्त्री पद जोगिने देखिन्छ।

मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिनकै लागी संसद् बैठक बस्ने कार्यसूची छ। एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्। उनलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। तर विभाजनपछि एमालेका ४१ जना मात्रै सांसद छन्।

काँग्रेस प्रमुख सचेतक केदार कार्की प्रधानमन्त्रीको भ्रमणको असर भएको बताउँछन् । नेपाली काँग्रेस बलियो अवस्थामा हुँदा पनि मुख्यमन्त्री नपाउनु दुःखद रहेको स्मरण गराउँदै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने बताए । विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन्। उता काँग्रेसका राजीव कोइरालाले मुख्यमन्त्रीमा इच्छा व्यक्त गरेका छन् ।

उता नेकपा एमालेले कार्तिक १५ गतेसम्म बैठक रोक्न माग गरेको छ । आज काँग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि एमालेले कार्तिक १५ पछि मात्र बैठक बस्न सकिने जनाएको हो । सभामुखलाई पत्र लेख्दै एमालेले पार्टीको महाधिवेशन र बैठकको कारण समय मिलाउन समस्या भएको बताएको हो।

emale-letter