झापा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले कुनै पनि हालतमा आगामी निर्वाचन नजित्ने दाबी गरेका छन्।

आज झापाको बिर्तामोडमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नबप्रबेशीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “प्रचण्डले चुनाव जित्दैनन्, माधव नेपाल चुनावमा डराएर समानुपातिक तर्फ जान्छन्” ।

आफ्नो भाषणको अधिकांश समय माधव नेपाल र प्रचण्ड तिरै खर्चिएका ओलीले माधव नेपालको नामै उल्लेख गर्दै गद्धारहरुले विरोधी तत्त्वसँग लागेर एमालेलाई दु:ख दिएको आरोप समेत लगाए ।

ओलीले थपे, “बिग्रिएका तत्त्व पार्टीमा थुपारेर काम छैन । माधव नेपाल बाहेक अरू फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्त्वलाई एमालेमा स्थान दिइँदैन । यो देश बनाउनेहरूको पार्टी हो । माधव नेपाल जस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिस्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन” ।

बाटो बिराएर गएकाहरूलाई पार्टीमा फर्कन सुझाव दिँदै ओलीले माधव नेपालको पछि लागेका दुई–चार जना अझै अलमलमा परिरहेको देख्दा आफूलाई अचम्म लागेको बताए । एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकै दिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो ।

विभिन्न पार्टी परित्याग गरी करिब ३ हजार जना एमालेमा प्रवेश गरेका छन् । सोही कार्यक्रमलाई सम्बोधन गर्न र नबप्रबेशीलाई स्वागत गर्न ओली झापा आएका हुन् । उनले एमालेका नवप्रवेशीलाई ढाडस दिँदै भने, ‘एमाले प्रवेश गरेकोमा तपाईँहरूले कुनै दिन पनि पछुतो मान्नुपर्दैन ।’

सरकारका वरिष्ठ मन्त्रीहरूले नै ‘अर्ली कलेक्सन’को तयारीबारे मुख खोलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको सम्भावित परिणामबारे पूर्वानुमान गर्नुले मुलुक अर्लि कलेक्सनको बाटोमा अघि बढ्न लागेको सङ्केत समेत मिलेको छ ।

फेरि प्रधानमन्त्री बन्न ओलीलाई बुबा मोहन ओलीको आशीर्वाद

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशीर्वाद दिएका छन् ।

आइतबार तीन दिने भ्रमणका लागि झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशीर्वाद दिएका हुन् । घर आइपुगेका छोरा केपी शर्मा ओलीलाई आशीर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ ।

'प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ, फागुन पछि हुने योग छ, एकदम राम्रो योग छ सफल होस् मेरो शुभकामना छ।' काठमाडौँ एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए । 'म काठमाडौँ जान्नँ । उता घुम्न पाइन्नँ ।'

'घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला बेला फोनमा कुरा हुन्छ । काठमाडौँ बोलाउँछ । तर, मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन', ९३ वर्षीय मोहनले भने ।झापाको भद्रपुर-१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन् ।