इटहरी : नेकपा माओवादी केन्द्र सुनसरीमा विवाद उत्कर्षमा पुगेको छ। पार्टी खुम्चिएर सानो भएको बेला विवाद भने झ्याङ्गिएर ठुलो बन्दै गएको हो । पदाधिकारी नियुक्ति लगायत विषयलाई लिएर सुरु भएको विवाद लामो समय मिल्न सकेको छैन । मुख्यतः जनयुद्ध लडेका पूर्व लडाकु र एकतामा पार्टी प्रवेश गरेका दुई पक्षमा देखिएको माओवादी केन्द्रको विवाद अझै लामो समय रहने सङ्केत देखिएको छ।

स्थानीय स्तरमा प्रभावशाली मानिएका नेताहरूले पार्टी छाड्दा समेत माओवादी केन्द्र भित्र एकता हुन सकेको छैन । स्थानीय सुनसरीका १२ स्थानीय तहमध्ये एउटामा पनि विजय हासिल गर्न नसकेको माओवादीमा सबैभन्दा ठुलो विवाद सुनसरीमै देखिएको छ । सुनसरीको सबैभन्दा सानो पार्टी माकेको सबैभन्दा ठुलो विवाद छ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केन्द्रीय सदस्य डम्बर सुवेदी (हिमाल) हाल नेकपा एमालेको प्रदेश सदस्य छन् । इटहरी उपमहानगरपालिकाका उपमेयर पदका उम्मेदवार भीम प्रसाद सुवेदी (सागर) पनि प्रदेश सदस्य चयन भएका छन् । भर्खरै विधान महाधिवेशनमा भाग लिएका दुवै नेता स्थानीय तहका प्रभावशाली नेता मानिन्छन् । माओवादी केन्द्र एक अवसरवादको चङ्गुलमा फसेको भन्दै आफ्नो भूमिका र मुद्दालाई प्रष्टपार्न एमाले मै रहेको उनीहरूको तर्क छ ।

ऊनीहरूसँगै सुनसरीबाट पूर्व माकेका ११ जना विधान महाधिवेशनमा सहभागी भएका हुन् । पूर्व जनमुक्ति सेनाका लडाकु अर्जुन गहतराज, ट्रेड युनियन महासङ्घका नेता सुमन मगराती, माकेका जिल्ला स्तरका नेताहरू पशुपति राई, हरि राई, रामजन अलि, माया पोखरेल र सरोज सिंह एमालेको प्रदेश कमिटीमा सहभागी भएका छन् ।

नेकपा विभाजन भएपछि एमालेमै रहेका उनीहरू प्रचण्ड र माधव नेपालले पार्टी छाडेको बताउँछन् । नेकपाको एकता सही भएको साबित गर्न पनि एमालेमै रहनुको विकल्प नभएको हिमाल बताउँछन्। एमालेले विधान महाधिवेशनले नै जनयुद्धलाई स्वीकार गरेर दस्तावेजीकरण गरिसकेको कारण आफूहरू ढुक्क भएको उनको भनाई छ । यसलाई एमालेमा प्रवेश भन्दा पनि नेकपाको निरन्तरताको रूपमा लिएको उनको ठम्याई छ। जारी अधिवेशनमा वडा तहमा पनि पूर्व माकेका धेरै कार्यकर्ताले ठाउँ पाएको उनको भनाई छ।

यस्तो छ सुनसरीमा माओवादी केन्द्रको विवाद

नेकपा माओवादी केन्द्र सुनसरीको विवाद सतहमा छ। नारायणकाजी समूह र प्रचण्ड समूहको जस्तो देखिने विवाद प्रदेश कार्यालयको तालाबन्दी सम्म पुगेको हो। प्रदेश कमिटीले गरेको कार्यबिभाजनमा असन्तुष्टि जनाएको समूहले असोज १७ गते पार्टीको प्रदेश कार्यालयमा तालाबन्दी गरेको थियो ।

नेकपामा हुँदा सुनसरी जिल्ला अध्यक्ष रहेका योगेन्द्र मण्डल (पम्पु) लाई प्रदेश कमिटीले सुनसरीको सह-इन्चार्ज मात्र बनाएपछि विवाद बढेको हो । प्रदेश कमिटीले हस्तक्षेप गरी जुनीयर इन्चार्ज भएको बेला सिनियरलाई सह इन्चार्ज बनाएको विषयबाट विवाद सुरु भयो ।

केन्द्रीय कमिटीले सुनसरी जिल्ला इन्चार्जमा एकचन्द्र बराल (निर्मल) र सह-इन्चार्जमा मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिव डाँगीलाई जिम्मेवारी दिएर पठाएको थियो । बराल भन्दा सिनियर केन्द्रीय सदस्यहरू रामकुमारी चौधरी र किरणकुमार राई भएको बेला विना आधार बराललाई इन्चार्ज बनाएको भन्दै विवाद बढेको हो । पछिल्लो समय बराल लाई इन्चार्ज मान्ने नमान्ने भन्ने विषयमा माओवादी केन्द्र धु्रविकृत हुँदै गएको बेला प्रदेश कमिटीले मण्डललाई सह-इन्चार्जको जिम्मेवारी दिएको छ।

नेकपा हुनुपुर्व मुकेश माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र बराल जिल्ला अध्यक्ष थिए। बराल नारायणकाजी श्रेष्ठ निकट र मुकेश प्रचण्ड पक्षका नेता हुन् । मण्डल मातृका यादव निकट छन् । उनी नेकपामा हुँदा सुनसरी अध्यक्ष भइसकेका छन् ।

केन्द्रले जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकेर गलत गरेको भन्दै पुनर्विचारको माग राख्दै मण्डल नेतृत्वको समूहले प्रदेश कमिटीमा ज्ञापन पत्र बुझाएको थियो । मण्डललाई साथ दिनेहरूमा स्वयम् मुकेश, पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, सन्तोष थारु (विश्व) लगायत छन् । उनीहरूले बराललाई इन्चार्ज स्वीकार गरेका छैनन्।

उता बरालको समूहले पार्टीमा अराजकता मच्चाएको भन्दै कारबाही गर्ने धम्की दिएको छ । पार्टीमा अराजक गतिविधि गरेको भन्दै उनीहरूले विज्ञप्ति नै जारी गरेका छन् । नव नियुक्त इन्चार्ज बराल सहित सह इन्चार्ज शिव डाँगी, प्रदेश कमिटी सदस्यहरू आइन्द्रबिक्रम बेघा, अनिता परियार, उमिता बराइली, नरेन्द्र बस्नेत र सुरेन्द्र महतोले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

डाँगीलाई सह-इन्चार्ज बनाएकोमा पनि मुकेश लगायतको समूह असन्तुष्ट रहेको छ । डाँगी यसअघि नै बरालसँग अध्यक्षमा पराजित भएका नेता हुन् । त्यससँगै जनयुद्ध लडेको र नलडेका बिचमा पनि विवाद बढेको हो । बरालले जनयुद्ध नलडेको र जनयुद्धको व्याज खान आएको भन्दै मुकेश र मण्डल समूहले असन्तुष्टि जनाएको छ ।

जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिको रूपमा रूपान्तरण भएपछि समन्वय समितिको संयोजक भने नेकपा हुँदा अध्यक्ष भएका योगेन्द्र मण्डल पप्पु छन् । उनी मातृका यादव निकट मानिन्छन् । जनयुद्धमा सामेल भएका अध्यक्ष प्रचण्ड निकट नेताहरूलाई माइनस गराउन खोजेको भन्दै मुकेश, रामकुमारी चौधरी, सन्तोष थारु विश्व लगायतले निर्मल बराललाई इन्चार्ज मान्न अस्वीकार गरेका छन् । त्यसमा आन्दोलनको मोर्चा पप्पुले सम्हालेका छन् । बाँकी नेताहरूले उनलाई साथ दिने बचन दिएका छन् ।

सुनसरी माओवादी केन्द्रलाई व्यवस्थापन गर्न प्रदेश कमिटीलाई समस्या परेको छ । आइतबार समस्या समाधान गर्न इटहरीमा सह-इन्चार्जहरू सुरेश किराँती (हिमाल), अजम्बर काङमांङ्ग र सावित्रीकुमार काफ्लेले दुवै पक्षका नेताहरूलाई भेटेर समस्या समाधान गर्न खोजे पनि सफल हुन सकेनन् ।

उल्टै इन्चार्जको सहमति बिनै जिल्ला समन्वय समितिले जिम्मेवारी तोकेको छ । योगेन्द्र मण्डलको नेतृत्वमा बसेको बैठकले इन्चार्ज र सह इन्चार्ज बिनै जिम्मेवारी तोकेको हो । ६२ सदस्यीय समितिमा ४२ जना मण्डल र मुकेश पक्षमा छन् । बहुमत सदस्यले मुकेशलाई केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज बनाउन सिफारिस गरिएको छ । त्यससँगै अनेरास्ववियु क्रान्तिकारीको सुनसरी अध्यक्ष बनाउने बिषयमापनि विवाद भएको थियो मुकेश र मण्डल समूहले अर्जुन पौडेललाई अध्यक्ष चयन गरेका छन् । उता बराल समूहले भने सिएम पौडेललाई अध्यक्ष बनाउने तयारी थालेको छ ।

जिल्ला इन्चार्ज निर्मल बरालले भने पार्टी लामो समय नेतृत्वमा रहेर पनि माओवादीको सङ्गठन बनाउन नसकेको दोष ढाकछोप गर्न अराजकता मच्चाएको आरोप लगाएका छन् । मुकेश र रामकुमारी चौधरीले १०/१० वर्ष नेतृत्व गरेकाले अहिले पार्टीमा अराजकता मच्चाउन खोजेको बताए ।

नेतृत्वमा रहँदा केही गर्न नसक्ने र पछि दोष ढाकछोप गर्न अराजक गतिविधिमा सामेल भएको उनको आरोप छ । विधि र विधान विपरीत गठन भएको समन्वय समितिको निर्णयलाई वैधानिक मान्न नसकिने उनले बताए ।