धरान : पाँचथरको फिदिममा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घटनास्थलमै एक बालक र एक महिलाको मृत्यु भएको थियो । थप उपचारको क्रममा एक बालक र अर्को एक जना महिलाको पनि मृत्यु भएको पाँचथरका सञ्चारकर्मी विजयवोध लावतीले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।

पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने को १ ख ३८६५ नम्बर को यात्रुवाहक बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम-४ स्थित मध्य पहाडी लोक मार्गको सगरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको हो ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको छ । बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेको प्रहरीले जानकारी दिएको छ ।

सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए ।

घाइतेहरूको फिदिमको समर्पित अस्पताल, पाथीभरा अस्पताल र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।