इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रमेश चौधरीले पचास लाख भन्दा बढीको साढे २१ धुर जग्गा वडा कार्यालय भवन निर्माणका लागि प्रदान गरेका छन् ।

स्वर्गीय पिता उमालाल चौधरीको स्मृति र आमा चेपरी देवी थरुनीको नाममा वडाध्यक्ष चौधरीले सो जग्गा प्रदान गरेका हुन् । सोही जग्गामा उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडा कार्यालय भवन शिलान्यास गरेका छन् ।

१ करोड २२ लाख,५२ हजार २सय ३१ रुपियाँको लागत अनुमान रहेको वडा कार्यालय भवन निर्माण कम्पनीले ७८ लाख ८३ हजार २सय २३ रुपियाँमा सकार गरेर निर्माण सुरु गरिएको उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवजले जानकारी दिए ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले अहिलेका जनप्रतिनिधि बन्न लागेको भवनबाट सेवा दिएरै बिदा हुने गरी भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

निर्माण सामग्री र निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने प्रमुख चौधरीले बताए । सो अवसरमा उनले वडामा बाढीले भत्काएका बाटोहरू तिहार अघि नै बनाइसक्न पनि निर्देशन दिए । वडाध्यक्ष रमेश चौधरीले पिछाडीएका ठाँउहरुमा सबैले आ आफ्नो ठाँउवाट योगदान गर्न सके विकासमा टेवा पुग्ने बताए ।

निर्माण सुरु गरिएको भवन पूरा भएपछि सो भवनबाट जनताले छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गरे । वडा सदस्य दुःखी लाल चौधरीले समयमै वडा कार्यालय भवन निर्माण हुनु पर्नेमा जोड दिए । ठेकेदार कम्पनी अग्नि एन्ड सन्स झापाका नरेन्द्र चौलागाईले समयमै भवन निर्माण सक्ने प्रतिबद्धता जनाए ।