इटहरी : अहिले नेकपा एमाले सुनसरी विवादको उत्कर्षमा पुगेको छ। एमाले विभाजन अगाडी माधव नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा लागेका नेताहरू बिच विवाद बढेको हो। दुवै पक्षबाट आरोप प्रत्यारोप र विज्ञप्ति प्रकाशित गर्ने होडबाजीले सम्बन्ध चिस्याउँदै लगेको छ।

हाल सुनसरीमा एमालेमा दुई वटा जिल्ला कमिटी छन्। १० बुँदे सहमति अनुसार २०७४ जेठ दुई अगाडी पार्टी फर्किएको अवस्थामा बस्नेत स्वतः पार्टी अध्यक्षको हैसियतमा देखिन्छन् । तर भण्डारीको कमिटीलाई पार्टी अध्यक्ष ओलीको समर्थन भएकाले एमाले एकताको लागी तयार पारिएको १० बुँदे कार्यान्वयन नभएको रूपमा हेरिएको छ।

गत भदौ २७ गते बिहीबार बसेको कार्यदलको बैठकले सुनसरी जिल्ला कमिटीको अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापना गर्ने निर्णय गर्‍यो। त्यस लगत्तै भण्डारीले आपत्ति जनाए । उनै आचार्यले भण्डारीलाई बरखास्त गरेर बस्नेतलाई अध्यक्ष चयन गरेका हुन्। एमाले विवाद उत्कर्षमा भएको बेला २०७७ फागुन १ गते ओली समूहबाट भण्डारी अध्यक्ष चयन भएका थिए।

उता भण्डारीले बस्नेत नेतृत्वको कमिटी स्पष्ट सँग पार्टीमा नखुलेको आरोप लगाएका छन् । विज्ञप्ति मार्फत नै उनले सुनसरी जिल्ला कमिटी विधानको व्यवस्था बमोजिम समयमै अधिवेशन नगरेर अवैधानिक रूपमा बस्नेतले समानान्तर गतिविधि गरेको उनको भनाई राखे ।

त्यसको प्रत्युत्तरमा बस्नेतले अर्को विज्ञप्ति निकाले । कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता लागु हुने भएकोले केन्द्रीय कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताए । त्यसमा पनि जेठ २ गतेमा फर्काउन बनेको कार्यदलले गरेको निर्णय लागु हुने उनले प्रष्ट पारे। भण्डारी नेतृत्वको कमिटी आफैमा मान्यता प्राप्त नभएकोले यसको कुनै अर्थ नरहने उनको तर्क छ।

हाल एमाले अधिवेशनको चटारोमा छ । सोही बमोजिम कार्त्तिक २ गते भण्डारीको अध्यक्षतामा जिल्ला कमिटीको बैठक बसी अधिवेशन सम्पन्न गर्ने देखी बाढी पीडितको लागी राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय भयो । सोही निर्णय सार्वजनिक गर्ने भण्डारीले प्रेस विज्ञप्ति जारी गरे । भण्डारीले सार्वजनिक गरेको विज्ञप्तिको खण्डन गर्दै ३ गते बस्नेत पक्षले अर्को विज्ञप्ति निकाल्यो । भण्डारीको विज्ञप्ति अनधिकृत र झुट भएको उनीहरूको आरोप छ।

विज्ञप्तिमा जेठ २ गतेको तत्तत् पार्टी कमिटी रहने केन्द्रीय कमिटी बैठक र अन्तरपार्टी निर्देशन १२ अनुसार भण्डारीको कमिटी अनधिकृत भएको ठहर गरिएको छ । त्यस्ता व्यक्ती र पार्टीको बहकाउमा नलागी माथिल्लो कमिटीको निर्णय अनुसार अगाडी बढ्न कार्यकर्तालाई आग्रह गरेको छ । जेठ दुईकै अवस्थामा पार्टी अगाडी बढेको अध्यक्ष बस्नेत र केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौला द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसपछि भण्डारीको समर्थनमा अर्का केन्द्रीय सदस्य तथा सुनसरी सह इन्चार्ज तैयब हुसैनले कार्त्तिक ५ गते छुट्टै विज्ञप्ति निकाले । प्रदेश केन्द्रीय सदस्य निरौला र प्रदेश सदस्य बस्नेतले भ्रमपूर्ण तथ्यहरू उल्लेख गर्दै विज्ञप्ति निकालेको ठहर गरेका छन् । उनले रमेश बस्नेत कहिल्यै सुनसरी जिल्ला अध्यक्ष नभएको आरोप लगाएका छन् । उनको कमिटी समानान्तर मात्र भएको भन्दै हुसैनले भण्डारी अध्यक्ष रहेको कमिटीले पार्टीको सम्पूर्ण काम कारबाही अगाडी बढाएको बताएका छन् । बस्नेत र निरौलाको विज्ञप्तिमा विश्वास नगर्न आग्रह गर्दै उनले भण्डारीको निर्णयलाई केन्द्रीय कार्यालयले मान्यता दिएको उल्लेख गरेका छन् ।

५ गते नै भण्डारीको पक्षमा सुनसरी जिल्ला समितिका प्रचार विभाग प्रमुख रवि खनालले बस्नेत र निरौलाको विज्ञप्तिको खण्डन गरेका छन् । जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने विषयमा भाद्र ८ को स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको आधारमा १३ गते जारी अन्तरपार्टी निर्देशनमा १२ मा कुनै निर्देशन नगरिएको उनको भनाई छ । प्रेस विज्ञप्ति नै जारी गरेर उनले बस्नेत र निरौलाले भ्रम छर्ने काम गरेको आरोप लगाएका छन्।

समस्यामा आचार्य

पार्टी सचिव समेत रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य प्रदेश १ इन्चार्ज हुन् । माधव नेपाल निकट रहेका आचार्य एमाले विभाजन हुँदा पनि मुख्यमन्त्री हुने भएपछि एमालेमै कायम रहे । आफ्नो राजनैतिक आधार क्षेत्र मानिएको सुनसरी एमालेमा विवाद बढ्दा ठुलो समस्यामा परेका छन् उनी।

पहिलै देखी उनलाई साथ दिएका नेताहरू संस्थापन पक्षको चेपुवामा परेका छन् । संस्थापन पक्षको एकलौटी निर्णयले आचार्य पक्षका स्थानीय नेताहरू निरीह बनेका हुन् । संस्थापन पक्षको समर्थनमा मुख्यमन्त्री भएका आचार्य अहिले आफ्नो टिम जोगाउने कि संस्थापनकै समर्थनमा लाग्ने भनेर बिलखबन्दमा परेका छन्।

एमाले र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता हुनु अगाडी सुनसरी अध्यक्ष रहेका रमेश बस्नेत लाई हटाएर रेवती रमण भण्डारीलाई अध्यक्ष चयन भएपछि विवाद बढेको हो । नेकपा भित्रको विवाद उत्कर्षमा भएको बेला अध्यक्ष चयन भएका भण्डारीले पद छाड्न मानेका छैनन् । पहिला माधव नेपाल निकट मानिएका भण्डारी आचार्य सँगको खटपट पछि ओली समूहमा लागेका हुन्।

अहिले आचार्यलाई संस्थापन पक्षका भण्डारी र आफू निकट बस्नेत कसको पक्षमा लाग्ने सकस छ । भण्डारीको पक्षमा लागे आफ्नो टिम भाडीने र बस्नेतलाई समर्थन गरे संस्थापन समूहले बदला लिन सक्ने उनको बुझाई छ। अहिले मुख्यमन्त्री भएकाले उनी पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्ने रणनीतिमा छन् । ७ दिनपछि मुख्यमन्त्री पदबाट बिदा भए खुलेर एउटाको समर्थन र बचाउमा लाग्ने नभए तटस्थ रहने उनको तयारी देखिन्छ।