इटहरी : सोमबार बिहानै इटहरीको आँपगाछीमा सवारी दुर्घटना भयो । एकाबिहानै भएको दुर्घटनामा कुनै हताहती नभए पनि सवारी साधनमा क्षति पुग्यो । यस अघि सोही ठाउँमा इटहरी १ का ७२ वर्षीय पूर्ण बहादुर गुरुङको टिप्परको ठक्करले घटनास्थलमै मृत्यु भएको थियो । गुरुङ मात्र हैन इटहरी तरहरा सडक खण्डमा यात्रा गर्ने धेरै यात्रुहरूले दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हलगडा देखी तरहरा सम्म साउन यता ४ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७७/७८ मा ६६ दुर्घटना भएको सो क्षेत्रमा ९ जनाको मृत्यु र ९० जना घाइते भएका थिए । गत साउन देखी ३ महिनाको दौरानमा ३१ दुर्घटनामा ४ को मृत्यु र ४६ घाइते भएका छन् ।

सवारीको खासै चाप नभए पनि दुर्घटनाको जोखिममा पर्छ हलगडा देखी तरहरा सडक खण्ड । ६ लेन सडक बिस्तारको क्रममा बिचमा क्रस गर्ने धेरै ठाउँ राखेको कारण दुर्घटना बढेको बताउँछन् रानी विराटनगर इटहरी धरान सडक आयोजनाका इन्जिनियर उपेन्द्र दास । हरेक १ देखी ३ किलोमिटरमा खाली ठाउँ छाड्नुपर्नेमा ५० देखी सय मिटरमै खुल्ला गरिएको कारण दुर्घटना बढेको हुनसक्ने उनको आकलन छ । स्थानीयको दबाबमा धेरै ठाउँमा क्रस बनाउनु परेको उनको भनाई छ । १२० किमी प्रति घण्टा सवारी चलाउन सकिने सडक तयार भए पनि ८० को स्पिडमा पनि सवारी चलाउन नसक्ने अवस्था आएको उनले बताए ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडा सवारी चालकले ध्यान नपुर्‍याउँदा बढी दुर्घटना हुने गरेको बताउँछन् । आफ्नो सवारीको अवस्था र सडकको भौगोलिक अवस्थालाई ख्याल नगरी तीव्र गतिमा सवारी चलाउँदा समस्या निम्तिएको उनको तर्क छ । ट्राफिक नियम प्रहरीको लागी मात्र हो भन्ने बुझाइले सवारी दुर्घटना जस्तो दुखद अवस्था सृजना हुने गरेको उनले बताए ।

६ लेन सडक बिस्तार भएसँगै सवारीको गतिमा समेत तीव्रता देखिएपछि दुर्घटना बढ्न थालेको छ । आँपगाछी इटहरीको सबैभन्दा धेरै दुर्घटना हुने क्षेत्र मानिन्छ ।

accident-data-tarahara