धरान : हङकङमा कार्यरत पत्रकार किसन राईको भीरबाट लडेर निधन भएको छ ।

आइतबार राति खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलाको भीरबाट लडेर ५४ वर्षीय राईको निधन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी दिएका छन् । उनी मध्यपहाडी लोक मार्ग हुँदै भोजपुरबाट धरान आउँदै गरेको बताइएको छ ।

उनी अँध्यारोमा पंखु खोलामा शौच गर्न गाडीबाट ओर्लेर जङ्गल तिर जाने क्रममा लडेको बताइएको छ । उनी शौच गर्न गएर धेरै समय सम्म नफर्किएपछि खोजी गर्दा उनी भीरबाट लडेर दुई सय मिटर तल खसेको अवस्थामा राईलाई फेला पारिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको डिएसपी लम्सालले बताए ।

प्रहरीले राईको शव आइतबार राति २ बजे दिक्तेलस्थित जिल्ला अस्पताल ल्याएको छ । उनको परिवार आएपछि मात्रै शव परीक्षण गरिने प्रहरीले जनाएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ मा बसाइँ सरेका उनी दुई दशकदेखि हङकङमा पत्रकारिता गर्दै आएका थिए ।

उनी हङकङबाट प्रकाशित हुने एभरेस्ट खबर मासिकका प्रकाशक-सम्पादक हुन् भने नेपाल पत्रकार सङ्घ हङकङका अध्यक्ष पनि रहेका थिए ।