धरान : गृह मन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रूपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो।

गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आउने मानिस भेटिए प्रहरीलाई खबर गर्न समेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

'पछिल्ला केही दिनका घटनाहरूबाट कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छु, गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ,' साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध छ'