धरान : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिकाहरूको अधिवेशन गर्दै छ ।

गत शनिवार वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज ७५३ मध्ये बाढी पहिरो प्रभावितबाहेकका सबै स्थानीय तहका अधिवेशन एकै पटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढी पहिरोले प्रभावित बाहेकका पालिका कमिटीको आज अधिवेशन हुन लागेको हो । गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशनको क्रम चलिरहेको हो । एमालेले आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन गर्दै छ ।