धरान : धनकुटा जिल्लाको समग्र विकासको माग गर्दै जनता समाजवादी पार्टी धनकुटाको टोली काठमाडौँ पुगेको छ ।

विभिन्न ६ वटा मन्त्रालयमा पुगेर धनकुटा जिल्लाको विकास र पर्यटन प्रवर्द्धनको विषयमा लिखित माग पत्र प्रस्तुत गरी बुझाएको जनता समाजवादी पार्टी सागुरीगढी गाउँपालिकाका अध्यक्ष लीलाराज लावतीले बताए ।

टोलीमा धनकुटा जिल्लाका पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङ्ग, केन्द्रीय सदस्य अर्जुन थापाको सहकार्य र विशेष पहलमा धनकुटा जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्ष बल बहादुर राईको अगुवाइमा जिल्लाका सह-सचिव नारायण जुन राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष लीलाराज लावती, जिल्ला समन्वय समितिका सदस्य बाय विजय राई र रवीन्द्र कुमार राईको प्रतिनिधि मण्डलको टोलीले सङ्घीय मन्त्रालयमा माग पत्र प्रस्तुत गर्दै बुझाएको हो ।

माग पत्रमा धनकुटा जिल्लामा भएका प्रकृतिक प्रकोपका साथै दीर्घकालीन र तत्कालीन रूपमा मन्त्रालयबाट हुन सक्ने विकासका आधारभूत विषयहरूलाई लिएर वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूलाई भेटेर माग पत्र बुझाइएको अध्यक्ष लावतीले बताए ।

मन्त्रालयमा माग पत्र प्रस्तुत गर्नेक्रममा धनकुटाको लेउती खोलाले बगाएको कोशी राजमार्ग तुरुन्त निर्माण गरी सवारी अवगमनलाई सहजता प्रदान गर्न पनि माग गरिएको छ । कोशी राजमार्गको सो सडक खण्ड हुँदै कोशी पहाडी क्षेत्रमा सवारी साधनहरू आउजाउ गर्ने हुनाले यसलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त निर्माण गर्न माग गरिएको अध्यक्ष लावतीले बताए । टोली आज धनकुटा फर्किँदै छ ।