धरान : नेकपा एमाले धरानको विवाद नमिले पछि धरानमा दुई समूहले छुट्टाछुट्टै नगर अधिवेशन गर्ने भएका छन् ।

हिजो देखि एकै ठाउँ पालिका अधिवेशन गराउनका लागि वार्ता भइरहेको थियो । दुवै समूहका नेताहरूबिच भएको वार्तामा सहमति जुटाउन नसक्दा धरानमा दुई स्थानमा नेकपा एमालेको अधिवेशन हुने भएको हो ।

हिजो देखि सहमतिमा पालिका अधिवेशन सम्पन्न गर्न र एकै ठाउँमा गरौँ भन्ने प्रयास थियो । तर हर्कजंग एभेङ पक्षले जसरी पनि आजै अधिवेशन हुन्छ भनेर अघि बढेकाले सहमति हुन नसकेको वार्तामा सहभागी नेकपा एमाले जिल्ला कमिटी सदस्य पदम लिम्बुले बताए ।

धरानमा शनिवार सम्पन्न वडा अधिवेशन देखिनै एमालेमा समस्या देखिएकोले ६ वटा वडामा सहमति भएको थिएन । ती ६ वटा वडालाई पनि समेटेर अधिवेशन केही समय पछि गरौँ भन्दा साथीहरू मान्नुभएन आजै गर्नै भने त्यसैले आज धरानमा दुई स्थानमा एमालेको अधिवेशन हुने भयो सदस्य लिम्बुले भने ।

हर्कजंग एभेङ पक्षको अधिवेशन धरान १० स्थित सैनिक भवनमा र नारायण सुबेदी पक्षको अधिवेशन धरान १५ स्थित होटल इजी राइडरमा हुने तयारी छ ।