धरान : नेकपा एमालेको धरान नगर अधिवेशन अन्तर्गत धरानमा मंगलबार एक समूहले सर्वसम्मत कमिटी चयन गरेको छ भने अर्को समूहले भोलि बिहान ११ बजे सम्मका लागि बन्द सत्र स्थगित गरेको छ ।  

नारायण सुबेदी पक्षको धरान १५ स्थित इजीराइडर होटलमा सम्पन्न अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा राजमणि निरौला, सचिवमा पारस काम्माङ राई, उपसचिवमा राजेन्द्र राई र दिवस राई सर्वसम्मत चयन भएका छन् ।

धरानमा नेकपा एमालेको पालिका अधिवेशन हर्कजंग एभेङ समूह र नारायण सुवेदी समूहले अलग अलग स्थानमा गरेका थिए । एकै स्थानमा अधिवेशन सम्पन्न गर्नका लागि दुई दिन सम्म वार्ता गरिएको भए पनि सहमति हुन नसक्दा दुई समूहले अलग अलग स्थानमा नगर अधिवेशन गरेका हुन् ।  

यता धरान १० सैनिक भवनमा हर्कजंग एभेङ समूहले गरेको नगर अधिवेशनमा भने बन्द सत्र स्थगित गर्ने विषयमा विवाद भएको छ । 

बन्द सत्र स्थगित गरेर धरानमा एमाले नेतृत्वलाई एक बनाउनुपर्ने नेतृत्वले भनेकोमा युवाहरूको समूहले बन्द सत्र सञ्चालन हुनुपर्ने भन्दै कुर्सी तोडफोड गरेका छन् । युवाहरूले ८, १० वटा कुर्सी तोडफोड गरेको बताइएको छ ।

युवाहरूको दबाब पछि सुरु भएको बन्द सत्रमा सांगठानिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेर प्रतिवेदन माथि छलफलका लागि ७ वटा समूह विभाजन गरेर भोलि बुधवार बिहान ११ बजे सम्मका लागि बन्द सत्र स्थगित गरिएको अध्यक्ष मण्डलका सदस्य गोपीकृष्ण खतिवडाले जानकारी दिए । 

Umle-Dharan-2