इटहरी : नेकपा एमाले इटहरी उपमहानगर अधिवेशनमा भाँडभैलो भएको छ। संस्थापन ओली पक्षमै दुई ध्रुव देखिएपछि विवाद सुरु भएको हो । संस्थापन पक्षबाट उपमहानगर अध्यक्षका उम्मेदवार याम सुब्बा र अर्का अध्यक्षका उम्मेदवार शिवनारायण चौधरी पक्षमा नेताहरू ध्रुवीकृत भएका हुन् ।

कार्तिक ९ गते मंगलबार देशैभरी एकैपटक पालिका अधिवेशन उद्घाटन भएको हो । खुल्ला सत्रको उद्घाटनमा नै विवाद देखिएको इटहरी एमालेको अधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन।

इटहरीका मेयर द्वारीकलाल चौधरी सहित डम्बर सुवेदी, भीम प्रसाद सुवेदी, धर्म प्रसाद निरौला, रमेश बस्नेत, चन्द्र भट्टराई, रामप्रसाद चौलागाई लगायत नेताहरूले चौधरीको पक्षमा माहौल बनाइरहेका छन् । बुधवार बिहानै इटहरीको दुर्गा पार्टी प्यालेसमा भेला बोलाएर उनीहरूले सुब्बालाई अध्यक्ष नबनाउने तयारी थालेका थिए। उनीहरूको भेलामा नगर प्रतिनिधीहरुले हस्तक्षेप गरेर भाडेका थिए । गुटगत भेला नगर्न आग्रह गर्दै प्रतिनिधिहरूले नेताहरूलाई भेलाबाट निकालेका हुन् ।

यसअघि अध्यक्षको दाबी गरिरहेका दुखिलाल चौधरीले सुब्बालाई समर्थन गर्ने बताएपछि शिवनारायण उम्मेदवार बनेका हुन् । २०७५ जेठ २ अगाडीको रेवती घिमिरेको अध्यक्षतामा शिवनारायण उपाध्यक्ष भएका थिए । तिन कार्यकाल अध्यक्ष भएका सुब्बा पुनः अध्यक्षको उम्मेदवार बनेका हुन् ।

हाल संस्थापन पक्षका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, सर्वध्वज साँवा लगायत नेताहरूले सुब्बालाई समर्थन गरेका छन् । हाल सर्वसम्मतको प्रयास भइरहेकाले चौथो कार्यकालको लागी उनी अध्यक्ष हुने सम्भावना बलियो देखिएको छ ।

अहिले अध्यक्ष लगायत पदाधिकारीको विवाद मिलाउन नेताहरू छलफलमा जुटेका छन् । नेताहरूले निष्कर्ष निकाल्न नसके युवा नेताहरूले हस्तक्षेप गर्ने तयारी थालेका छन्। युवाहरूले निर्वाचित गरेका जनप्रतिनिधि पार्टी एकता विरुद्ध लागेको बताउँदै उनीहरूले हस्तक्षेपको तयारी थालेका हुन्।

itahari-bhadbhailo