धरान : नव निर्मित इलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन भएको छ ।

कार्यालयको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त भवनको समुद्घाटन गरेका हुन् । भवनको समुद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए ।

उनले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन सँग सँगै कार्यरत प्रहरी कर्मचारीहरूमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रूपान्तरण हुनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरूमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए सँग सँगै नागरिक सेवामा अब विगतका दिनहरू भन्दा प्रभावकारी ढङ्गले अगाडी बढ्न नव निर्मित भवनको योगदान रहने विश्वास व्यक्त गरे ।

२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई यस्ता भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै थप जोस र ऊर्जाका साथ प्रहरी काम कारबाही गर्न कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए ।

इलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको साँढे २ तले कार्यालय भवन तथा आवास गृह २ करोड, ६६ लाख, ३३ हजारको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो ।