धरान : नेकपा एमाले धरानमा पालिका अधिवेशनमा दुईसमुहले अलग अलग दुई तिर अधिवेशन सम्पन्न गरेका छन् ।

धरानमा नारायण सुवेदी समूहले हिजै सर्वसम्मत नेतृत्व चयन गर्दै नगर अधिवेशन सकेको छ भने यता हर्कजंग एभेङ समूहको अधिवेशन निकै लामो रस्साकस्सी पछि कमिटी चयन गर्न सफल भएको छ । मंगलबार साँझ अबेर बुधवार ११ बजे सम्मका लागि बन्द सत्र स्थगित गरेर संगठानिक प्रतिवेदन माथि छलफल गर्न ७ समूह बनाएको थियो ।

तर बुधवार निर्धारित समय भन्दा धेरै ढिलो सुरु भएको बन्द सत्रले अध्यक्षमा हर्कजंग एभेङ, उपाध्यक्षमा सविता चाम्लिङ, सचिवमा सुदेश चापागाईँ, उपसचिवमा जोन राई र सुमन राई सर्वसम्मत नेकपा एमालेको धरान उप महानगर कमिटीमा चयन भएका छन् ।

एभेङको अध्यक्षतामा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको मध्ये यो समाचार तयार पारुन्जेल सम्म ७ सदस्यीय खुल्ला र ५ जना युवा विद्यार्थीमा सहमति हुन बाँकी रहेको छ ।

धरानमा पालिका अधिवेशन दुई तिर भएसँगै एमाले फुटेको छ । मंगलबार एभेङ पक्ष र सुबेदी पक्षबिच एकै ठाउँमा पालिका अधिवेशन गर्नका लागि नेताहरूले निकै ठुलो जोड बल गरे पनि अधिवेशन हुनु केही समय अघि सम्म भएको वार्ता सहमति नभएपछि अधिवेशन दुई तिर भएको हो ।