चतरा : गोपाल कटवाल र कविता अर्थात् देवका अधिकारी (कट्बाल) को ५ वर्षको उमेरमा छोरो क्यान्सर रोगका कारण गत वर्षको साउन ३२ गते मृत्यु भयो ।सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ८ जितपुर स्थायी  बसोबास भए पनि कट्वाल दम्पती काठमाडौँमा बसोबास गर्दै आइरहेका थिए।

कट्वाल दम्पतीको मृत्यु भएका छोराको नाममा जीवन बिमा थियो । बिमा गर्दा कम्पनीमा हकदार आमा थिइन्। कट्वाल दम्पतीको पारिवारिक सम्बन्धमा खटपट थियो जुन कुरा छोराको मृत्यु भए पछि छताछुल्ल भयो । छोराको १३ दिने काम सकिए लगतै आमाले घर छाडेर माइत तिर लागिन्।

छोराको बिमाको संरक्षक अर्थात् हकदारको रूपमा आमा देवका अधिकारी थिइन् । बुबा गोपालले छोराको मृत्यु कानुनी रूपमा दर्ता गर्न  र बिमाको लागि २०७७ सालको भाद्र १६ नाता प्रमाणित र मृत्यु दर्ताको प्रमाणपत्र लिए। उनले परिवारमा खटपट समेत भएको वडाका अध्यक्षलाई सुनाए। गोपाल र वडाध्यक्ष फडिन्द्र भट्टराई छिमेकी समेत हुन् । मृत्यु भएका छोराको मृत्यु दर्ता र नाता प्रमाणित वडा कार्यलयवाट लैजाँदा आमा देवका काठमाडौँमा थिइन।

तर मृत्यु भएका छोराको बिमामा आँखा लगाएकी आमाले बुवा गोपालले लगेकै विवरणको मृत्यु दर्ता र नाता प्रमाणित चक्रघट्टिको महेन्द्र माविका प्लस टु संयोजक घनश्याम दाहाल मार्फत २०७७ सालको मङ्सिर ८ गते कार्यालयबाट प्रतिलिपिको माग समेत नगरी अर्को सक्कल कागजात लगेर बिमा बापतको नेपाल लाइफ इन्स्योरेन्सबाट १९ लाख ८७ हजार ५ सय रुपैयाँ निकालिन। वडा कार्यालयले मृत्यु दर्ता र नाता प्रमाणित बुवालाई दिए पछि, आमा नआई, प्रतिलिपि माग समेत नगरी बुवाले लगेको पत्रको प्रतिलिपि आमाको प्रतिनिधिलाई दिएर अधिकार दुरुपयोग गरेको कट्वालको आरोप लगाएका छन्।

वडा अध्यक्ष र सचिवबाट अन्यायमा परेको भन्दै गोपालले पटक पटक नगरप्रमुख निलम खनाल र प्रमुख प्रशासकीय अधिकृत राजेश पोखरेलसँग गुनासो गरे । तर गुनासो गरेको वर्ष दिन हुन लाग्दा पनि न्याय पाउन नसकेको गोपाल बताउँछन् । न्याय पाउनको साटो उल्टै नगर प्रमुखले खनाल वडाध्यक्ष भट्टराईको बचाउमा लागेको आरोप गोपालको छ । गोपाललाई उपमेयर कमला मगरले पनि न्याय दिने प्रतिबद्धता गरेको बताए।

वडाध्यक्षबाट न्यायको आस गरेका गोपाललाई वडाध्यक्षले कारबाही गर्ने चेतावनी सहितको प्रेस विज्ञप्ति समेत जारी गरेका थिए । वडाध्यक्षले गोपाल र उसका मतियार विरुद्ध कानुनी कारबाहीको लागि अगाडि बढ्ने पत्रकार सम्मेलन गर्दै जनाएका थिए।

तर वडाध्यक्षले जारी गरेको प्रेस विज्ञप्ति आधारहीन र न्याय माग्ने जनता विपरीत गरेको समेत कट्वाल परिबार सडकमा निस्किएका छन् । जनप्रतिनिधि, प्रशासनबाट न्याय पाउन नसकेको भन्दै गोपाल कट् वाल सहित गोपालका आमा र बुवा न्याय माग्दै सडकमा आएका हुन् । गोपालले बुधवार वराहक्षेत्र नगरपालिकाको कार्यालय अगाडि पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष भट्टराई, सचिव गङ्गा लिम्बू, घनश्याम दाहाल र मेयर निलम खनालले आफूलाई अन्याय गरेको भन्दै न्यायको लागि हात फैलाएका थिए।