विराटनगर : इटहरीमा १४ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण भएको छ।

५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैचामा ३-३, उर्लाबारी, कटहरी र लेटाङमा १-१, झापाको मेचीनगर, बिर्तामोड र भद्रपुरमा ३-३, गौरादह, अर्जुनधारा र दमकमा २-२, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा १४, धरानमा ३, इनरुवामा २, दुहबीमा १ र इलामको इलाम नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६ महिला र ३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।