दमक : नगरपालिका र उपभोक्ताको लागतमा कालोपत्रे गरिएको दमक वडा नम्बर ९ को सडकमा वडाध्यक्षलेनै रकम नतिर्दा उपभोक्ताबाट रकम उठाउन समस्या भएको छ ।

दमक ९ चिया दोकान चौक दक्षिण पूर्वेली टोलकोको सडक कालोपत्रे भइसकेकोको दुई वर्ष नाघिसक्दा पनि उपभोक्ताबाट उठ्नु पर्ने रकम नउठेको हो । उपभोक्ताको समेत लागतमा निर्माण सम्पन्न गरिएको सडक कालोपत्रे गर्दा लागेको रकम अधिकांश उपभोक्ताबाट नउठ्दा समस्या भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

उक्त सडकमा सोही वडाका वडाध्यक्ष रामबहादुर धिमालको समेत जग्गा परेकोले उनले तिर्नु पर्ने १ लाख १७ हजार ७ सय रुपैयाँ निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा समेत नदिएको निर्माण उपभोक्ता समिति अध्यक्ष उमानाथ न्यौपानेले जानकारी दिए । वडाध्यक्ष समक्ष पटक पटक रकम माग गरिए पनि उनले विभिन्न बहाना बनाएर नदिएको उनले बताए । वडाध्यक्षलेनै रकम नदिए पछि अन्य धेरै उपभोक्ताले पनि रकम नतिरेको अध्यक्ष न्यौपानेले बताए ।

सडक निर्माणको कुल लागत १ करोड ४५ लाख १ हजार १ सय ९० रुपैयाँ मध्ये उपभोक्ताबाट ४३ लाख ५० हजार ३ सय ५७ रुपैयाँ उठाउनु पर्ने थियो । तर हाल सम्म १३ लाख रुपैयाँ मात्रै उठेको उपभोक्ता समिति अध्यक्ष न्यौपानेले जानकारी दिए ।

वडाध्यक्षलेनै रकम नतिरेकाले अरू उपभोक्ताबाट उठाउन भएको समस्याका बारेमा नगर प्रमुख, उप प्रमुख लगायतलाई कुरा राखे पनि त्यहाँबाट समेत सुनुवाइ नभएको उनले गुनासो गरे । सडक निर्माण गर्दा रकम नतिर्ने कतिपयको घर र जग्गा समेत बिक्री भइसकेकोले नयाँ घरधनीहरूले आफूहरूलाई थाहा नभएको बताउन थालेको अध्यक्ष न्यौपानेले बताए ।

वडाध्यक्ष आफ्नै कार्यकर्ता भएकोले नगरपालिकाको नेतृत्वबाट रकम असुलीमा सहयोग नभएको अन्य उपभोक्ताले आरोप लगाएका छन् । पहुँच हुने र ठुला मान्छेले जे गरे पनि हुने रहेछ नि भन्दै रकम दिने उपभोक्ताहरूले पनि रकम फिर्ता माग्न थालेको उपभोक्ता समिति सचिव प्रदीप विष्टले बताए ।